नेपालका भूतपूर्व राजा हुने बेला नजिकिँदै गर्दा वर्दीवाला र वर्दी बिनाका ठूलो संख्याका सुरक्षाकर्मीहरुसहित ज्ञानेन्द्र आफ्नी पत्नीसहित सोमबार दक्षिणकालीमा गई पूजाआजा गरे। त्यतिमात्र हैन, ज्ञानेन्द्रले पञ्चबलि पनि दिए। पञ्चबलिमा राँगा, बोका, कुखरा, हाँसको बलि दिने गरिन्छ। डेढ घण्टासम्म उनीहरुले मन्दिरमा पूजा गर्दा अरु कसैलाई त्यहाँ जान दिइएको थिएन। सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। दक्षिणकाली राजपरिवारको इस्ट देवता पनि हो। संविधान सभाको निर्वाचनपछि पहिलो पटक ज्ञानेन्द्र सार्वजनिक स्थानमा यसरी पूजा गर्न गएका हुन्।
जेठ १५ गते बस्ने संविधान सभाको पहिलो बैठकले राजतन्त्रलाई वैधानिक रुपमा अन्त्य भएको घोषणा गरेपछि पनि नागरिकका रुपमा उनी यसरी मन्दिर जान त पाउने नै छन्। तर त्यतिबेला भूतपूर्व राजाका रुपमा यति धेरै सुरक्षाकर्मीको उपस्थिति हुने हो कि हैन, त्यो चाहिँ पछि मात्रै देखिने छ।
त्यसैगरी दायाँबायाँ उभिनेहरुबाट फूलमाला लिने काम भने उनले अझै पनि गरिरहेको देखिन्छ। धन्न, अहिले उनी उनको शासनकालमा जस्तो बुझेँ, बुझेँ भन्दैनन्। शायद उनले बढी बुझिसकेका छन् वा केही बुझेका छैनन् वा बुझ्ने क्रममा रहेका छन्।
उनले मन्दिरमा पूजा गर्दै गर्दा मंगल धून बजिरहेको सुनिन्छ। धन्न, पोहोर जस्तो सेनाले राष्ट्रिय गानको सलामी दिएन। अहिले त राष्ट्रिय गान पनि उनको ‘सदा रहोस् उन्नति’ भन्ने नभई ‘अग्रगामी राष्ट्र हाम्रो’ भन्ने पो रहेको छ त।